यो वर्ष विपदमा परी ४४० जनाको मृत्यु, १२० बेपत्ता र करोडौको क्षति

 यो वर्ष वर्षातको समयमा भएका विपदका घटनामा परी ४४० जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको तथ्यांक अनुसार देशका सबै ७७ वटै जिल्लामा कुनै न कुनै विपदका घटनाबाट प्रभावित भएका छन्।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्ति कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्थीका अनुसार मनसुन अझै सक्रिय रहेकाले क्षति बढ्नसक्ने अनुमान गरिएको बताए। उनका अनुसार वैशाख १ देखि असोज ८ सम्म देशभर भएका बाढी पहिरो, चट्यांग, सर्पदंश, भारी वर्षा र अन्य विपदमा परी ४४० जनाको मृत्यु भएको छ भने १२० जना अझसम्म हराइरहेका छन्। यस्तै ७ सय ४५ जना घाइते भएका छन्।

उनका अनुसार यो अवधिमा १ हजार ८८६ वटा विपदका घटना भएका छन्। विपदका घटनाबाट देशभरका ५ हजार ८२९ घरपरिवार प्रभावित भएका छन्। १२३६ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने २८४२ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन्।

यो वर्ष सबैभन्दा धेरै पहिरोमा परी जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ। गृह मन्त्रालयका अनुसार वैशाख १ देखि असोज ८ सम्मको अवधिमा ४६७ वटा पहिरो जाँदा २७७ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन्। यस्तै २११ जना घाइते भएका छन्। पहिरोले ७३० घरपरिवार प्रभावित भएका छन्। यो अवधिमा देशका ७७ मध्ये ५९ जिल्लामा पहिरोका घटना भएके गृह मन्त्रालयले जनाएको छ।

यो अवधिमा पहिरोबाट सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको छ। गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा १८ वटा पहिरो जाँदा ३८ पुरुष र ३३ महिला गरी ७१ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा पहिरोमा परी १५ पुरुष र ८ जना महिला गरी ३२ जना घाइते भएका छन्। यस्तै १२० घर परिवार प्रभावित भएका छन्।
सबैभन्दा धेरै पहिरो कर्णाली प्रदेशको कालिकोटमा गएको गृहको तथ्यांकले देखाउँछ। त्यहाँ १९ वटा पहिरोका घटना भएका छन्। पहिरोमा परी पुरुष १८ र महिला १९ जना गरी ३७ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। यस्तै ३२ जना घाइते भएका छन्।

यो अवधिमा देशभर बाढी पहिरोले ३३७ गोठमा क्षति पुग्दा २२१८ वटा पशुचौपायको क्षति भएको छ। हालसम्म भएका कुल जनधनको क्षति ७४ करोड २५ लाख ६९ हजार ९१० रुपैयाँ बराबरको भएको गृह मन्त्रालयले अनुमान गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *