बाढीले घर डुबानमा, त्रासमा वासिन्दा
लगातारको वर्षाले सप्तरीका नदी, खोलामा पानीको बहाव बढेपछि तटीय बस्तीका घर डुबानमा परेर जोखिम बढेको छ।

सप्तकोशी नदी लगायत जिल्लाको खाँडो, महुली, बलान, खडक, त्रियुगा, जितालगायत नदी-खोलामा पानीको सतह बढेर बाढी आएपछि जोखिम बढेको हो। खाँडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी-कोइलाडी गाउँपालिका-१ को बेल्ही टोलमा ५० घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार बेल्हीमा ५० घर, सकरपुरामा ६५ घर र कोइलाडी र को. बर्साइनमा करिब एक सय घर डुबानमा परेको छ। सकरपुरामा लगातारको वर्षाको पानी निकास नभएर तथा कोइलाडी र को. बर्साइनमा महुली, जिता खोला र कोशी नदीको बाढीले डुबानमा परेको हो।