‘मन्त्रालय फुटाए काँग्रेस टुलुटुलु हेरेर बस्दैन’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएमा विरोधमा उत्रिने बताएका छन्।
प्रधानमन्त्रीले केही मन्त्रालय फुटाउने तयारी गरिरहेका खबर सार्वजनिक भइरहेका छन्। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन राज्यमन्त्रीहरूलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्रीले मन्त्रालय फुटाउन खोजेको चर्चा छ।
प्रधानमन्त्री कार्यालयसहित अहिले २१ मन्त्रालय छ। त्यसलाई बढाएर २५ बनाउन लागेको चर्चासँगै कांग्रेस वरिष्ठ नेता पौडेलले मन्त्रालय फुटाए कांग्रेसले टुलुटुलु हेरेर नबस्ने विरधमा उत्रने बताए ।
मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले विरोध गरेका हुन्।
देशलाई भार मात्रै पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउन नहुने पौडेलको भनाइ छ।