कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ। पूर्व कोषाध्यक्षसमेत रहेका रामबाबु प्रसाईंको निधनमा पार्टी केन्द्रीय कार्यालय आइतबार बन्द रहने भएको छ।प्रसाईंको शोकमा कार्यालय बन्द रहेसँगै आइतबारका लागि तोकिएको बैठक पनि स्थगित भएको छ। पूर्व पदाधिकारीको निधनमा केन्द्रदेखि जिल्लाका कार्यालय एक दिन बन्द रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

९९ वर्षको उमेरमा प्रसाईंको शुक्रबार निधन भएको थियो। उनी नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए।

आइतबारको बैठक स्थगित गरिए पनि नयाँ मिति तय गरिएको छैन। आपसी सल्लाहमा नयाँ मिति पुनः तोकिने प्रवक्ता शर्माले जानकारी दिए। अर्कोतर्फ शीर्ष तहका अधिकांश नेताहरु होम आइसोलेसनमा रहेकाले आइतबारको बैठक सम्भव पनि देखिएको थिएन। वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौलालगायतका उच्च तहका नेता होम आइसोलेसनमा छन्। उनीहरुका सहयोगीमा कोरोना संक्रमण देखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *