२५ वर्षपछि बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः सुरु

बैतडी : २५ वर्षपछि बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो । २०५२ सालदेखि बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

समिट एयरले हप्ताको एकदिन उडान भर्ने गरी नियमितरुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ । उनले भने, ‘पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको छ ।’

पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भएपनि अबदेखि बैतडीमा हप्तामा एक दिन मंगलबार नियमित उडान हुने समिट एयरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिए । उनले भने,’ धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्नेछ ।’

धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैयाँ तोकिएको छ । नियमित हवाई उडान भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ । अर्को हप्तादेखि आफ्नै जनशक्ति राखेर काम गरिने समिट एयरका सुदूरपश्चिम म्यानेजर उप्रेतीको भनाइ छ ।

यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण गरेको थियो ।

२०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनमा आएपछि यहाँका बासिन्दामा उत्साह थपिएको  स्थानीय चमन भण्डारीले बताए । उनले भने, ‘लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आएको छ । यसले यो क्षेत्रका नागरिकमा उत्साह थपेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *