अधिकांश शक्तिपीठमा दर्शन मन्दिरबाहिरैबाट

नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्‍क्रमणका कारण धेरै मन्दिर बन्द छन्।

 

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ। नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् ।

यसैगरी पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन्। भौतिक दूरी कायम गरेर आज बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो। आज बिहान ७:०० बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका-३० का वडाध्यक्षसमेत रहेका मन्दिर प्रबन्ध समितिका अध्यक्षले बताए।

 

मन्दिरमा साङ्लो लगाएर एक/एक जनामात्र दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ। प्रहरीले मन्दिर बन्द गराएपछि भक्तजनले बाहिरबाटै दर्शन गरी फर्किने गरेका छन्। महानगरपालिका-२९ स्थित कालिकास्थान मन्दिर भने भौतिक दूरी कायम गरेर खुला राखिएको अध्यक्ष कुश ढकालले बताए। मन्दिरमा स्थानीय भक्तजनमात्र आउने भएकाले एक/एक गरी दर्शन गर्न दिइएको छ। स्वयंसेवक खटाएर भक्तजनलाई दुई मिटरको दूरीमा राखी सुरक्षित रुपमा पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *