दसैं पछि खुलेको शेयर बजारमा उछाल, नेप्से १६४७.४५ अंकमा
दसैं बिदापछि आजदेखि खुलेको सेयर बजार हरियो देखिएको छ। दसैं बिदा अघिको दिनपनि बढेर बन्द भएको थियो।
गत बिहीबार नेप्से सूचक १६०६.२५ विन्दुमा बन्द भएको थियो। पाँच दिनपछि १६१२.५१ विन्दुबाट सेयर बजार खुलेको हो। आज ३ बजे सम्म भएको कारोबारमा सूचक बढेर १६४७.४५ विन्दुसम्म पुगेको छ।
बुधबारको कारोबारमा ट्रेडिङ बाहेक सबै सुचकहरु बढेका छन् । कोरोना माहामारीको बावजुद पनि सात वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण प्रस्ताव गरेका छन्। माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, सानिमा, सिटिजन्स, एनआइसी एशिया, कुमारी र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरिसकेका छन्।
बुधबार वाणिज्य बैंकहरुको सूचक सबैभन्दा बढी बढेको छ। वाणिज्य बैंकहरुको सूचक ५५.१५ अंकले बढेसँगै नेप्से सूचक पनि बढेको छ।
बुधबार २ अर्ब ७२ करोड ५९ लाख ९४ हजारको कारोबार भएको छ । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन सँगै शेयर बजार पनि निरन्तर उकालो लागेको छ । यस अघि पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा शेयर बजार १८ सय नाघेको थियो । यस पटक त्यो भन्दा माथि पुग्न सक्ने शेयर बजारका जानकारहरू बताउँछन् ।