खुमलटारमा ओली निकटका नेताहरूको दौडधुप

नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार गएका हुन् ।

यसअघि बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए ।

नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग सम्वाद गर्न आग्रह गर्दै आएका छन् । प्रचण्डले भने आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिँदै आएका छन् । शुक्रबार खुमलटार पुगेका नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले प्रचण्डसँगको भेटवार्ता नियमित भएको बताए ।

कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो ।

तर आफूसँग भएको सहमति विपरीत ओलीले निर्णय लिएको भन्दै प्रचण्डले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् ।

विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग सम्वादमा बस्न मानिरहेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *