‘बास्कोटाविरुद्धको प्रमाण मंगलबार अख्तियारलाई बुझाउँछु’ विजय मिश्र
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ मोलमोलाइ गरेको भनिएको अडियो टेप बाहिर ल्याएका विजयप्रकाश मिश्रले आइतबार अदालतमा हाजिर हुने बताएका छन् ।
मिश्रले आफू जापानबाट दसैँमा काठमाडौं आएको र आइतबार अदालतमा हाजिर भएर अदालती प्रक्रिया पूरा गर्ने बताए । सोमबारसम्म अदालतमा आफूले संकलित प्रमाण पेश गरेर कानूनी प्रतिरक्षा गर्ने मिश्रले बताए ।
पूर्वमन्त्री बास्कोटाले जिल्ला अदालत काठमाडौंमा गत फागुन १६ गते मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।
मिश्रलाई म्याद तामेल गर्न गएका अदालतका कर्मचारी पटक–पटक घर नभेटिएको भन्दै फर्किएका थिए । मुद्दा दर्ता गर्दा मिश्रको घर लमजुङको सुन्दरबजार नगरपालिका–७ भनिए पनि उनी काठमाडौंमा बस्छन् । तर, दुबै ठाउँमा म्याद तामेल गर्न जाँदा घर फेला नपारेपछि अदालतका कर्मचारीले उनलाई ‘बेपत्ते म्याद तामेल’को सूचीमा राखेका छन् ।
अदालतको प्रक्रिया सकेर मंगलबार अख्तियारमा हाजिर हुने मिश्रले बताएका छन् ।