बालुवाटार वार्ताले संवादहीनताअवस्थाको अन्त्य
करिब दुई घन्टा लामो छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका छन्।
१२ दिनपछि भेटघाटका लागि शनिबार बालुवाटार पुगेका अध्यक्ष दाहालले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए। त्यसक्रममा दाहालले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरिनुपर्ने धारणा राखेको उनीनिकट स्रोतले बतायो।
दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, ‘रअ’ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड-१९ बारे धारणा राखेका थिए।
पार्टीमा अनुमोदन नगराई निर्णय लिन थालेपछि दाहाल र ओलीबीच पुन: तिक्तता सुरू भएको छ।
यसअघि लामो रस्साकस्सीबीच नेकपा विवाद साम्य भएको थियो। तर, पछिल्ला राजनीतिक घटनापछि दाहाल-ओली भेटघाट नै बन्द भएको थियो।
संवादहीनताको उक्त अवस्था भने शनिबारको भेटले अन्त्य गरिदिएको छ।