केन्द्रको दबाब बढेपछि कर्णालीको मन्त्रिपरिषद् हेरफेर तत्काललाई रोकियो
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही आइतबार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीबाट पछि हटेका छन्।
शाही नेकपा वरिष्ठ नेता माधकुमार नेपाल समूहसँग भएको पूर्वसहमति अनुसार आज मन्त्रिपरिषदमा हेरफेर गर्ने गरी बिहान सबेरैदेखि छलफलमा जुटेका थिए।
मन्त्रिपरिषदमा हेरफेर गर्नका लागि शाहीले नेकपा अध्यक्ष केपी शर्मा ओली निकट सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन लगाएका थिए।
तर अध्यक्ष ओलीले ती मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएपछि मन्त्री शाहीले आफ्नो मन्त्रिपरिषदमा हेरफेरको निर्णयले केन्द्रीय सत्तामै असर पर्ने देखेपछि तत्काललाई आफ्नो मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट उनी पछि हटेको पार्टी स्रोतले बतायो।