बिहिबारको पूजा विधि र व्रत कथा

 

वैवाहिक सुख प्रप्तिका लागि,गुरु बृहस्पतिको अनिष्ट फ़ल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रत गर्ने गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ । बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ । असन चिजको प्रयोग गर्नु हुँदैन ।

guru brihaspatiव्रत कथा

धेरैधेरै पाहिलेको कुरो हो – एकजना असाध्यै प्रतापी र दानी राजा थिए । उनी प्रत्येक बिहीवारका दिन व्रत लिन्थे पुण्यकर्म गर्दथे । यस्तो क्रियाकलाप रानीलाई मन पर्दैनथ्यो । रानी न त व्रत नै लिने गर्दथिन्, न त कसैलाई एक पैसा दान नै गर्दथिन् । उनको इच्छा राजाले पनि यी क्रियाकलाप नगरे हुन्थ्यो भन्ने  थियो। एक पटकको कुरा हो राजा शिकार खेल्न वनतर्फ़ गए । घरमा रानी र दासीहरू थिए । त्यस समयमा गुरु बृहस्पति साधुको रूप धारण गरेर राजको ढोकामा देखा पर्नुभयो । साधुले रानीसित भिक्षा माग्दा ऊ भन्न थाली – हे साधु महाराज । म यस दान र पुण्य भन्ने शब्दसितै घृणा गर्दछु । हजुरले कुनै यस्तो उपाय बताउनु हवस्, जसबाट यी सम्पूर्ण धनसम्पत्ति नाश होस्, म यो वैभव समाप्त भएपछि मात्र आनन्दले बस्न पाउछु । साधुरुपी वृहस्पति देवताले भन्नुभयो, हे देवी । तिमी साह्रै विचित्रकी स्त्री रहिछ्यौ । संतान र धनसित तृप्त हुने मान्छे मैले देखेको थिइन, यदि तिमिसँग प्रशस्त धन छ भने त्यस धनलाई शुभ कार्यमा खर्च गर, जसबाट तिम्राे इहलोक र परलोक दुबै सुध्रनेछन । तर साधुका यी उपदेश सुनेर रानी खुसी भइन् । उनले भनिन्, मलाई यस्तो धनको खाँचो छैन, जुन धन मैले दानादिनमा खर्च गर्नुपरोस् तथा जुन धन स्याहार्दा स्याहार्दै मेरो यावत् समय नष्ट हुन्छ । साधुले फेरि भन्नुभयो, लौ त तिम्रो अब यस्तै इच्छा छ भने म जसोजसो भन्छु, त्यसै गरन त ! बिहीबारका दिन तिमिले आफ्नो घर गोबरले लिप्नु, आफ्नो कपाल पहेलो माटोले धुनू, कपाल धुने समयमा स्नान समेत गर्नु, राजासित कपाल खौरिन भन्नु, भोजन गर्दा मासुमदिरायुक्त भोजन गर्नु, आफ्ना लुगाफाटा धोबीलाई धुन दिनु । यसरी सातवता बिहीबार गर्यौ भने तिम्राे सम्पूर्ण धनधान्य र वैभव नष्ट हुन जानेछ ।

यति भनेर साधुका भेषमा आउनु भएका गुरु वृहस्पति अंतर्धान हुनुभयो । साधुले बताएबमोजिमका कृत्य गरेको अहिले तीन हप्तामात्र भेको थियो, त्यस राज्यकोषको समस्त धन-संपत्ति नष्ट हुनपुग्यो । भोजन गर्नका निम्ति पनि परिवारले लालायित हुनु पर्ने स्थिति आयो । एक दिन राजाले रानीलाई भने, हे रानी । तिमी यहीं बस, म अर्को देश जान्छु, यस देशमा मलाई सबैले चिनेका छन् त्यसैले यहाँ सानातिना काम गर्न लाज हुन्छ । यति भनेर राजा परदेश गए । परदेशमा उनले जंगलबाट दाउरा बटुलेर शहरमा ल्याई बेच्ने काम गर्दथे । यसरी नै राजा आफ्नो जीविका चलाउन थाले । यता, राजाबिना रानी र दासीहरू दुखी त थिए नै, एकपटक तिनीहरूले सात दिनसम्म भोकै बस्नु पर्यो । रानीले भोक खप्न नसकेर दासीलाई नजिकैको सहरमा बसोबास गर्ने आफ्नी धनवान् बहिनीका घरमा गएर केही अन्नपात मागेर ल्याउन भनिन् । दासी रानीकी बहिनीका घरमा पुगी । त्यस दिन बिहीबार थियो । रानीकी बहिनी त्यस समय बिहीबारको व्रतकथा सुन्दै थिईन् । दासीले रानीकी बहिनीलाई आफ्नी रानीको संदेश दिई, तर रानीकी बहिनीले कुनै उत्तर दिइनन् । यसरी रानीकी बहिनीले कुनै उत्तर नदिंदा दासी अती दुःखी भई । उसलाई रिस पनि उठ्यो । दासीले आफ्नो घरमा फिर्ता आएर रानीलाई यावत वृत्तान्त सुनाई । सुनेर, रानीले आफ्नै भाग्यलाई सरापी । उता, रानीकी बहिनीले सम्झी मेरी दिदीकी दासी आएकी थिई, तर म उससित बोल्न पनि भ्याइन, यसबाट ऊ दुखी भई होली । कथा सुनिसकेर र पूजादि समाप्त गरी ऊ स्वयम् दिदीका घर गई र दिदीलाई भनी, म बिहीबारको व्रतकथा सुन्दैथिएं । हजुरकी दासी आएकी थिई, कथावाचन हुन्जेलसम्म उठ्न, हिड्डुल गर्न र बोल्न समेत मनाही छ, त्यसैले म ऊसित बोल्न पाइन । दासी किन गएकी हो भनी म जानकारी लिन आएकी ! बहिनीका यस्ता कुरा सुनेर दिदीले भनी, बहिनी मेरा घरमा एक गेडो पनि अन्न थिएन, रानीले आफ्ना कुरा टुङ्ग्याउन पनि सकिन उसका आंखा आंसुले भरिए । उसले दासीहरूसमेत भोकै बस्नु परेको स्थिति पनि येनकेन बहिनीलाई बताई । रानीकी बहिनीले दिदिका कुरा सुनेर भनी, सुन्नोस् दिदीहजुर ! गुरु वृहस्पतिले सबैका मनोकामना पूर्ण गर्नुहुन्छ । हुनसक्छ, हजुरका घरमा कति अन्न छ ।

यो सुनेर दासी घरभित्र जाँदा त्यहाँ उसले एउटा अन्नले भरिएको घड़ा भेट्टाई । दासीलाई बडो आश्चर्य भयो किनकी उसले यस अघि नै एउटा एउटा भाँडाकुँडा चहारेकी थिई । उसले बाहिर आई रानीलाई भनी, हे रानी आखिर हामीले भोजन नभेट्दा व्रत बसे सरह नै त हुन्छ, किन यिनैसित व्रत र कथाको विधि सोधेर बिहीबारको व्रत लिन थालौं । दासीले बताएपछि रानीले आफ्नी बहिनीसित बिहीबारको व्रतका विषयमा सोधिन् ।  बहिनीले बताए अनुसार बिहीबारको व्रत बस्दा चनाको दाल र गुडले विष्णु भगवानको स्मरण गर्दै केराको बोटको जरामा पूजा गरेर धूपबत्ती गर्नुपर्छ । पहेंला खाद्यपदार्थ उपभोग गर्नुपर्छ र कथा श्रवण गर्नुपर्छ । यसो गर्नाले गुरु बृहस्पति प्रसन्न हुनुहुन्छ, सम्पूर्ण मनोकामना पूर्ण हुन्छन । व्रत र पूजनविधि बताएर रानीकी बहिनी आफ्नो घर फर्किई ।रानी र दासी दुबैले निश्चयतापूर्वक सात दिनपछि बिहीबारको व्रत लिने प्रण गरे । घोडाको तबेलामा गई चना र गुड़ खोजमेल गरी ल्याए र ती सरजामले केराको बोटको जरामा विष्णु भगवानको स्मरण गर्दै पूजन गरे । अब खानका निम्ति पहेंलो खाद्यपदार्थ कहाँबाट पाउनू, दुबै असाध्यै दुखी भए । तर उनीहरूले श्रद्धाभक्तिपूर्वक व्रत गरेका थिए, त्यसैले बृहस्पतिदेव प्रसन्न हुनुहुन्थ्यो । एकजना साधारण व्यक्तिका रुपमा उहां दुईवटा थालमा स्वादिलो पहेंलो परिकार लिएर आउनुभयो र दासीलाई प्रदान गर्दै भन्नुभयो, हे दासी ! यो भोजन तिम्रा निम्ति र तिम्री रानीका निमित्त हो, यसलाई तिमीहरू दुबैले ग्रहण गर्नू । दासी भोजन प्राप्त गर्नाले अती प्रसन्न भई । उसले रानीलाई सम्पूर्ण वृत्तान्त बताई । त्यसपछिदेखि तिनले प्रत्येक बिहीबारका दिन गुरु भगवानको व्रत र पूजा गर्न थाले । वृहस्पति भगवानको कृपाले तिनीहरूसित धनागम भयो ।  त्यसैले  आलस्य  नगरी गुरु बृहस्पतिको प्रतेक बिहिबार पूजा गर्न थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *