शेयर बजारमा सामान्य करेक्सन

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ। दशैँपछि गत बुधबारबाट खुलेको बजारमा पहिलो दिन ४१ अंकको बृद्धि भएको थियो भने बिहीबार १.७८ अंकले घटेको थियो। तेस्रो दिन आइतबार पनि ४.७२ अंकले घटेर नेप्से सूचक १६४०.९६ विन्दुमा झरेको छ।

यस दिन कारोबार रकम झण्डै ३ अर्ब रुपैयाँ पुगेको छ। आइतबार १९६ वटा कम्पनीको १ करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १२ वटा उपसमुहमध्ये ५ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ७ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। आइतबार व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.२ प्रतिशत बढेको छ भने हाइड्रोपावर र माइक्रोफाइनान्स उपसमूहको सूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ।

दशैँपछि खुलेको बजारमा पहिलो दिन बैंकिंग समुहमा लगानीकर्ताको बढी आकर्षण देखिएको भए पनि दोस्रो दिनबाट लगानीकर्ता प्रोफिट बुक तर्फ लग्दा बैंकिंग समुह पुनः घट्न थालेको छ। यस दिन बैंकिंग उपसमुहको सूचक १.०९ प्रतिशतले घटेको छ।

आइतबार हिमालयन उर्जा विकास कम्पनी, बिशाल बजार कम्पनी र नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको ९.७६ प्रतिशत, नेरुडे लघुवित्तको ९.५६ प्रतिशत र रैराङ हाइड्रोपावरको ६ प्रतिशतले बढेको छ।

त्यस्तै यस दिन सानिमा इक्वीटि फण्डको शेयरमूल्य सबैभन्दा धेरै ५.३० प्रतिशतले घटेको छ भने स्ट्यान्डर्ड चाटर्ड बैंकको ३.९५ प्रतिशत, जनरल इन्स्योरेन्सको ३.७३ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ३.४० प्रतिशत र सनराइज बैंकको ३.३५ प्रतिशतले घटेको छ।

 

आइतबार शिवश्री हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको १६ करोड ८७ लाख, प्राइम कमर्शियल बैंकको १५ करोड ६८ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १२ करोड २४ लाख, एनआइसी एशिया बैंकको १० करोड ७७ लाख रुपैयाँ र सानिमा बैंकको १ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *