राजस्थान रोयल्स कोलकातासँग ६० रनले पराजित

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लिग चरणबाट बाहिरिएको छ। आइतबार राती आइपिएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ । र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

कोलकाता तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । तर, कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ ।

अब मंगलबार हुने लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई पराजित गरेमा कोलकाता प्ले अफ पुग्नेछ ।

यदी हैदराबादले जितेमा नेट रन रेटको आधारमा प्ले अफ पुग्ने टोलीको तय हुनेछ ।

यस्तै सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलले समेत यस समीकरणका लागि महत्वपूर्ण रहनेछ ।

राजस्थानले भने १४ खेलमा १२ अंक जोडेर सिजनको अन्त्य गरेको छ । पुछारमा रहेको राजस्थान आईपीएलबाट बाहिरिने तेस्रो टिम बनेको छ ।

यस अघि चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाब प्ले अफ होडबाट बाहिरिसकेको छ ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १४ खेलमा ७ मा हार र ६ मा जित सहित १४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ पाँचौ स्थानमा छ ।

किंग्स इलेभेन पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । चेन्नई १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको छ । राजस्थान १४ खेलमा ६ मा जित र ८ मा हार बेहोर्दै १२ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *