दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा
मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।
यस जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई भेटमा समेत मुम्बईले दिल्लीलाई हराएको थियो ।
साविक विजेता समेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।
दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।
अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।
इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । बैंगलोर र हैदराबादबीचको खेल शुक्रबार हुनेछ ।