पार्टी फुटको स‌ंघारमा, बालुवाटारमा जुँगाका गफ

देशको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको अन्तर विरोधको बारेमा छलफल गर्न  वरिष्ठ नेता नेपालसँगै स्थायी समिति सदस्य भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेका थिए।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संकटमा परेको पार्टी एकतालाई बचाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ठोस प्रस्ताव मागेका छन् । छलफलका लागि बोलाएपछि निकट नेता लिएर आइतबार दिउँसो बालुवाटार पुगेका वरिष्ठ नेता नेपालले पार्टी एकता बचाउन ओलीसँग आग्रह पनि गरेका छन् ।

ओलीले पहिले दुई अध्यक्षबीच छलफल र समझदारी हुनुपर्ने र त्यसका आधारमा महासचिवले बैठक बोलाउने व्यवस्था विधानमा भएको तर्क गरेका थिए। तर नेपालले नेतृत्वले सँधै जिम्मेवारी लिँदै आएको प्रसंग उल्लेख गर्दै वर्तमान परिस्थितिको जिम्मेवारीबाट भाग्न नमिल्ने आग्रह गरेका थिए।

करिब तीन घण्टा लामो बसाइमा ओलीले नेपाल पक्षलाई पार्टी फुटको संघारमा पुगेको र पहिलेभन्दा गम्भीर स्थितिमा आफूहरु रहेको सुनाए। तर समस्या कसरी समाधान गर्ने भन्नेमा ओली प्रवेश गर्न चाहेनन्।

बरु ओलीले त्यो बीचमा नेपाल पक्षलाई भरपुर ‘इन्टरटेन’ गर्ने कोशिस गरे। नेपाल पक्षको बैठक डाक्नुपर्ने अनुरोधको जबाफ ओलीले आफ्नो शारीरिक अवस्थाको वर्णन गरेर दिए।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि आफू पूर्ण स्वस्थ रहेको, हाछ्यूँ पनि नआउने अवस्था मात्रै होइन, अब त सेतो जुँगा पनि आधाआधा कालो आउन थालेको बताएर ओलीले आफ्नो स्वस्थ तनको वर्णन गरे। अर्थात ओली राजनीतिक कुश्तीका लागि तन्दुरुस्त र तयार रहेको सन्देश नेपाल पक्षलाई दिएका थिए।

आजको  छलफलबाट पनि नेकपा भित्रको किचलोमा  निकास निस्कने  कुनै संकेत देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *