‘नेपाल’ नाममा बहस आवश्यक छैन : मन्त्री ज्ञवाली

मुलुकको नाम अगाडि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने मन्त्रिपरिषद्को निर्णयबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा स्पष्टीकरण दिएका छन् । मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र लेखिँदै आएकोमा अबदेखि नेपाल मात्रै लेख्ने भनेर निर्णय गरेको थियो ।

मन्त्री ज्ञवालीले मुलुकको औपचारिक नाम कसैले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने र कसैले नेपाल मात्रै लेख्ने गरेकाले अबदेखि मुलुकको औपचारिक नाम ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरिएको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान भनेका छैनौं, नेपालको संविधान भनेका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘नेपालको औपचारिक नामलाई एकरुपता दिउँ, यसमा अन्य विशेषण लगाइरहन आवश्यक छैन भन्ने हो । कूटनीतिक नियोग र अन्य क्षेत्रमा हुने पत्राचारमा फरक-फरक हुने भएकाले यस्तो निर्णय गरिएको हो ।’

संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको नामसँग सम्बन्धित नभई नेपालको राज्य प्रणालीसँग भएकाले यो विषयमा धेरै बहस गर्न आवश्यक नभएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *