नेकपाको विवाद उत्कर्षमा, ओली इतर समूहले बोलायो सचिवालय बैठक

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेपछि असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मगंलबार दिउँसो चार बजे पार्टी मुख्यालयमा औपचारिक सचिवालय बैठकका लागि समय तोकेका छन्।

तीन दिन कुर्दा पनि ओली औपचारिक बैठकका लागि तयार नभएपछि प्रचण्ड-नेपाल समूहले आफैले औपचारिक बैठकका लागि समय निर्धारण गरेको हो।

यसअघि ओलीले प्रचण्डलाई सचिवालयको औपचारिक बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि धुम्बाराहीमा प्रचण्ड-नेपाल समूहको अनौपचारिकरुपमा सचिवालय बैठक बसेको थियो।

उक्त बैठकबारे सचिवालयका ९ जना सदस्यहरुलाई जानकारी गराए पनि ओली पक्षका तीन जना सदस्यहरु अनुपस्थित भएका थिए।

त्यसको भोलीपल्ट शनिबार प्रचण्ड-नेपाल समूहले बालुवाटार पुगेर ओलीलाई बैठकका लागि सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएको थियो।

तर ओलीले त्यसैदिन आफू पनि कार्यकारी अध्यक्ष भएको र गुटीय बैठकले गरेको निर्णय र अनुरोधका आधारमा केन्द्रीय सचिवालय बैठकको मिती नतोक्ने अडान सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए।

त्यसयता पनि ओली बैठकका लागि सहमत हुने अपेक्षासहित प्रचण्ड-नेपाल समूहले प्रतिक्षा गरेपनि त्यसमा ओली तयार हुने सम्भावना कम देखेपछि आज ४ बजे बस्नेगरी धुम्बाराहीमा बैठक बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *