संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको उपेन्द्र यादवको जिकिर

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । जसपाको युवा संगठन समाजवादी युवा संघले मंगलबार जनकपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कामकाजमा हटाउने निर्णय गरेर सरकारले परिवर्तनकारी शक्तिलाई चुनौती दिएको जिकिर गरे ।

कोरोना महामारीको संकटमा सरकारले आमजनताको समस्यालाई सम्बोधन गर्नुभन्दा विभिन्न जालझेल गरेर मुलुकलाई दुर्गतिको बाटोतर्फ लगिरहेको यादवको आरोप छ । जनताको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको बताउँदै उनले भने, ‘अब सरकारविरुद्ध सकडदेखि सदनसम्म आन्दोलन गर्छौँ ।’

जसपा मुलुकको वैकल्पिक शक्ति भएको उनको दाबी छ । उनले भने, ‘जसपा मुलुकको वैकल्पिक शक्ति हो, लोकतन्त्र र गणतन्त्रणलाई बलियो बनाउन जसपा एक कदम पनि पछि पर्दैन ।’
विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरूले नै गरेको भन्दै यादवले मुलुकको विकास र समृद्धिका लागि शिक्षित र सक्षम युवालाई अगाडि बढाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *