छठ पर्व आजदेखि विधिवत् रूपमा शुरु

छठ पर्वको विधिवत् सुरु आजदेखि भएको छ । यसक्रममा तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ ।

छठ पर्वको प्रमुख स्थलमध्येको एक मानिने जनकपुधामस्थित गँगासागर, धनुषसागर, अंगराजसर, बिहारकुण्ड, अग्निकुण्ड, भैया पोखरी, महन्थ पोखरी, लगायतका जलाशयहरुमा सरसफाई तथा घाट निर्माण कार्य गरिएको छ ।

यस वर्ष आजबाट छठ पर्वको बिधि शुभारम्भ नहायखाय, बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा भई बिधिवत रुपमा बिसर्जन हुने धार्मिक कार्यक्रम रहेको छ ।

पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजन सहित प्रसादस्वरुप खाने गर्छन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्टी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ्य दिन्छन् । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी)को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

कोभिड–१९ सङ्क्रमणको सन्त्रासले धेरैजसो बर्तालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् । पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन् ।

सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अर्घ्य देखाइएका सामग्री उदाउँदो सूर्यलाई देखाउँदै दोस्रो अर्घ्य दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *