मंसिर १३ मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्नेगरी नेकपा सचिवालय बैठक सम्पन्न
निकै रस्साकस्सीकाबीच बसेको नेकपा सचिवालय बैठक स्थायी कमिटी र केन्द्रीय समिति बैठकको मिति तय गर्दै सकिएको छ ।
१० दिनपछि अर्थात् मंसिर १३ मा फेरि सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी डाक्ने निर्णय गर्दै बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकअघि आउँदो सचिवालय बैठकमै प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि)समेत वितरण भएको थियो ।
यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो । अब केही दिन पर धकेलिएको छ ।
आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि ओली दबाबमा परेका ओलीले सचिवालय बैठक सार्न खोजेका थिए ।