तिहारपछिको पहिलो कारोबार दिन २३ अंकले बढ्यो नेप्से
तिहारपछि खुलेको पहिलो कारोबार दिन नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ भने कारोबार रकम पनि झण्डै पाँच अर्ब नजिक पुगेको छ।
यस दिन नेप्से सूचक १.३६ प्रतिशत अर्थात २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा पुगेको छ। बुधबार १९४ वटा कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ७९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।
यस दिन कारोबारमा आएका १२ उपसमुहमध्ये तीन उपसमुहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ९ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ। यस दिन व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने उत्पादनमुलक उपसमूहको ६.९४ प्रतिशत, निर्जीवन बीमा कम्पनी उपसमुहको ४.५१ प्रतिशत र होटल उपसमुहको २.०९ प्रतिशतले बढेको छ।