शेयर बजारमा हालसम्मकै उच्च ६ अर्ब माथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंसिर ४ गते बिहीबार हालसम्मकै उच्च रकमको शेयर खरीद बिक्री भएको छ । नेप्से सूचक ३६.३२ अंकले वृद्धि भएको शेयर बजार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबार रकमको आधारमा यो हालसम्मकै उच्च हो । यसअघि २०७६ फागुन १८ गते आइतबार एकैदिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार हुँदै रेकर्ड कायम भएको थियो । सो दिन बजार पूँजीकरण २० खर्ब ३१ अर्ब कायम भएको थियो । यसअघि उक्त मितिमा नै नेपाली शेयर बजारमा कारोबार रकमका आधारमा रेकर्ड नै कायम गरेको थियो । सो रेकर्ड आज तोडिएको हो ।

नेप्से सूचकले पछिल्लो उच्च बिन्दु कायम गरेको दिन २०७३ साउन १२ गते बुधबार सूचक १ हजार ८८१ दशमलव ४५ बिन्दुमा रहेको थियो । उक्त दिन २ अर्ब २६ करोडको शेयर कारोबार हुँदा बजार पूँजीकरण २० खर्ब ७० अर्ब रहेको थियो ।

बिहीबार १९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर ५६ हजार ३४१ पटक खरीद बिक्री भएका हुन् । कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये सबै सूचकमा हरियाली छाएको छ । ब्यापार र होटलको सूचकमा ९ प्रतिशत धेरैको वृद्धि आएको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड बढीको शेयर खरीद बिक्री हुँदा १५ कम्पनीको शेयर ९ प्रतिशत धेरैले बढेको छ । कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य मात्र घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *