निरोज्यू सुकला भयो !
“क्रान्तिकारीहरूलाई छेक्नू, थुन्नू, दबाउनू
बिल्ला आतङ्कको टाँस्नू, सकेको यातना दिनू
नकरा बहुदल् नाथे ! तँ बोलेको बढी भयो !”
– प्रतिबन्ध लगाएर निरोज्यू सुकला भयो !
“मेरो विरुद्धमा लड्ने घाइते भै मरून् सबै !
रक्तदान नहोस् काहीँ उपचार नहोस् कतै !
चुप्प लाग् पोखरा साले ! तेरो हल्ला बढी भयो !”
– तरुनी काख च्यापेर निरोज्यू सुकला भयो !
“तँ पाजी जनता को होस् ? ठोक्छु गोली अझै ल खा !
मेरो विरुद्धमा बोल्छस् ? मर्छस् नाथे तँ ! बल्ल खा !
नचिच्या चितवन् भाते ! तेरो फुर्ती बढी भयो !”
– सिङ्गै बँदेल खाएर निरोज्यू सुकला भयो !
“मै हुँ राज्य तथा न्याय न्यायाधीश सबै म हुँ !
धर्मशास्त्र प्रजातन्त्र संविधान सबै म हुँ !
नकरा ! चुप्प लाग् खाते ! आज्ञा सम्राटको छ यो !”
– राज्यको कोष भ्याएर निरोज्यू सुकला भयो !
तरुनी, मदिरा, मासु निरोज्यूले सबै गरे
भोक, रोग र गोलीले धेरै मरे थला परे
निरोको सुकलायात्रा प्रजालाई असह्य भो
– सुताएछन् सदानिम्ति निरोज्यू सुकला भयो !
कवि, समालोचक डा. रामप्रसाद ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्रले नेपाली जनताको गणतान्त्रिक आन्दोलन दबाउन कर्फ्यु लगाएको बेलामा लेखेको कविता अहिलेको राजनीतिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक छ । यो कविता मार्फत कविले नेतृत्वलाइ आफ्नो तुच्छ स्वार्थका लागि लाखौँ जनतामाथि विश्वासघात गरेमा तपाईंहरूको गति पनि ज्ञानेन्द्रकै जस्तो हुन सक्ने तथा इतिहास र जनतालाई कमजोर नठान्नुस् र तुच्छ स्वार्थका निम्ति तानाशाही र गद्दारीको बाटो त्याग्न आग्रह गरेका छन् । साथै जनतासित वाचा गरेको बाटोमा हिँड्न घच्घच्याउन चाहेका छन् ।