सरकारले ल्याएको अध्यादेश प्रति सर्वत्र विरोध, संविधानको मर्मविपरित भएको संविधान विद्को दावी

सरकारले संबैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि सत्तारुढ नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेताहरुले नै आपत्ति जनाएका छन् । संसद अधिवेशन आह्वान गर्ने समयमा अध्यादेश ल्याएर सरकारले लोकतन्त्रको मर्मविपरित काम गरेको विपक्षी कांग्रेसको ठहर छ ।
आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता उपस्थित भएका थिएनन् । मंगलबारको बैठकमा पनि सभामुख उपस्थित नभएपछि सरकारले एकाएक संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएर बहुमत सदस्यले नै निर्णय गर्नसक्ने ब्यवस्था गरेपछि विपक्षी मात्र होइन सत्तारुढ दलकै नेताले पनि विरोध गरेका छन् ।
संविधानविद्हरूले पनि संविधानको मर्मविपरित व्यवहार भएको बताएका छन् ।

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश संविधान र संसदीय मूल्य मान्यता विपरित आएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै अध्यादेश खारेज नभए दुर्घटना हुने चेतावनी समेत दिएका छन् । दाहालसहित माधव नेपाल समूहले पार्टीमा कुनै छलफल र सल्लाह नभएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि विवादित भएको भन्दै नेकपाकै नेताहरुले आलोचना गरेका छन् । संसद बैठक तत्काल बोलाएर छलफल गरेर ऐन ल्याउनुपर्नेमा अध्यादेश ल्याउनु संविधान र संसदीय अभ्यास विपरित भन्दै तत्काल फिर्ता लिन नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल सहित माधव नेपाल समूहले माग गरेको छ ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारले संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएर संविधान विपरित काम गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । संसद बैठक तत्काल बोलाएर आवश्यक कानुन बनाउनुको सट्टा अध्यादेश मार्फत देश चलाउन खोज्नु गम्भिर भुल र अधिनायकवादतर्फ उन्मुख भएको आरोप कांग्रेसको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद भएको र संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको र सर्वसत्तावादी सोच झनै प्रस्टिएको टिप्पणी गरेका छन् । सरकार अधिनायकवादीबाटमा अगाडी बढेको कांग्रेसको ठहर छ । अध्यादेशको बारेमा छलफल गर्न नेपाली कांग्रेसका सभापतिले बुधवार शिर्ष नेताहरूको बैठकको आह्वान गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *