घट्न थाल्यो प्याजको मूल्य
काठमाडौँ-भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ। भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो।
प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो। प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आज प्रतिकिलो रु ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ। यस अघि पुसको पहिलो साता ९० देखि १०० सम्म कारोबार भएको थियो।