नागरिकको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप, तेस्राे जनआन्दोलनको घोषणा

प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन् ।  

उनीहरुले कमलपोखरीको माटो लगाएर र्‍याली सुरु गरेका थिए । कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

बालुवाटारतिर लम्किंदै गरेका उनीहरुलाई प्रहरीले रोक्यो, प्रहरी घेरा तोडेर अघिबढ्न खोजेपछि उनीहरुमाथि लाठीचार्ज र पानीको फोहोरा वर्षियो । शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै उनीहरुले अब तेस्रो जनआन्दोलन सुरु भएको चेतावनी दिए ।

प्रहरीको हस्तक्षेपम केही अभियान्ता घाईते समेत भएका छन् । नागरिक अगुवाहरुले अबको प्रदर्शन शहिद सप्ताह सुरु भएको समयमा सरकारविरुद्ध शहिदको सम्झनासहित हुने जनाएका छन् । सोमबार दिउँसो प्रतिनिधिसभा विघटनविरुद्ध बालुवाटार पुगेका मानवअधिकारकर्मीहरुको प्रदर्शनमा पनि प्रहरी हस्तक्षेप भएको थियो । मानवअधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष कृष्ण पहाडीसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विभिन्न समूहमा रहेका संघसंस्था, अधिकारकर्मी र नागरिक अगुवाहरु प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा छन् ।।

सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गर्नुपरेको जनाएको छ । लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ता घाइते भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *