प्रतिपक्षी दलले सामाजिक संजाल मार्फत गरे प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमको विरोध

प्रतिपक्षी दलले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेका छन् ।

मध्यरातमा संसद भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधानको सामूहिक बलात्कार भएको भन्दै आक्रोश पोख्नुभएको छ । उहाँले महामारीको यस्तो समयमा मध्यावधिको रङ्गिन सपना महँगो पर्नेसमेत चेतावनी दिनुभएको छ ।

यस्तै कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिले आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको टिप्पणी गर्नुभएको छ । उहाँले अहिलेको राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने बताउनुभएको छ ।

 

 

यस्तै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्णय सार्वजनिक भएलगत्तै ट्वीट गर्दै प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिनुभएको छ ।

तर परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने एमालेकै सांसदहरुको कारण देश मध्यावधि चुनावमा गएको बताउनुभएको छ । एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेकाले देश मध्यावधितर्फ गएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *