पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला
कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौको यही माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको छ ।
कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गएकाे माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीवारसम्म नित्य पूजामात्र हुँदै आएको थियो। मन्दिर आजदेखि खुले पनि विशेष पूजा भने शनिवारदेखि मात्र सुरु गरिने छ।
करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भिड लागेको छ । प्रशासनको आदेश अनुसार ५०/५० जना भक्तजनलाई स्वास्थ्य मापदण्ड पालना गरी मन्दिर प्रवेश गराइएको छ।
महाशिवरात्रि नजिकिएपछि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल पनि बढ्ने गरेको छ ।