‘आईसीसी प्लेयर अफ द मन्थ’मा दीपेन्द्रसिंह ऐरीकाे मनाेनयन

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी परेका छन् ।

आईसीसीले  बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द परेका छन् । भोटिङका आधारमा तीन जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन् ।

आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो । तर नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगितामा एक सय ५९ रन बनाउँदै ६ विकेट पनि लिए ।

छनोटअघि ओमान, यूएई र आयरल्यान्डसँग भएको शृङ्खलामा पनि दीपेन्द्रले एक सय ४२ रन बनाउँदै चार विकेट पनि लिएका थिए ।

यस्तै भारतीय खेलाडी श्रेयस अय्यरले वेस्ट इन्डिजसँगको एकदिवसीय र टी–२० तथा श्रीलङ्कासँगको शृङ्खलामा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए ।

यूएईका वृत्य अरविन्दले आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई विश्व कपमा पुर्‍याएका छन् । १९ वर्षका अरविन्दले पाँच खेलमा दुई सय ६७ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *