हैजाका संक्रमित बढेसँगै सर्वसाधारणमा त्रास
गर्मी र बर्षातको समयमा भाइरल ज्वरो, हैजा, झाडापखलाका बिरामी बढि हुन्छन् । हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानीको सेवन तथा अस्वस्थकर खानपानबाट लाग्छ । बर्षातसँगै पानीका मुहान दुषित हुने र हैजाका जीवाणु मिसिने हुँदा हैजा संक्रमणको मुख्य कारण दूषित पानी रहेको विज्ञहरु बताउँछन् । अहिले काठमाडौं उपत्यकाका १२ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । खानेपानी तथा फोहोरको उचित व्यवस्थापन नभएको समयमा हैजाका संक्रमित बढेसँगै सर्वसाधारणमा त्रास बढेको छ ।
हैजा गम्भीर खालको झाडापखाला भएकाले उचित सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
हैजा भिब्रिओ कोलरी नामको ब्याक्टेरियाले लाग्छ । काठमाडौँ उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु पुष्टि भइसकेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपाका धारा, इनार, ट्याङ्कर, जार र बोतलका पानीको नमुना परीक्षण गर्दा हैजाका जीवाणु भेटिएको हो। काठमाडौंमा हैजाको प्रकोप फैलनसक्ने पूर्वानुमानसहित अस्पताललाई तयारी अवस्थामा रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्देशन दिएको छ । हैजाको रोकथाम र नियन्त्रण गर्न विभिन्न समिति गठन भएका छन् ।
हैजाबाट बच्न सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ । आफ्नो खानपानबाटै हैजा नियन्त्रण गर्न सकिने भएकाले सबैले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
अहिलेसम्म नेपालमा १२ जनामा हैजाको जीवाणु देखिएको छ । ८ जना निको भएर घर फर्किसकेका छन् । सरकारले हैजा महामारीको अवस्थालाई मध्येनजर गर्दै हैजाको उपचार गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ। हैजाका बिरामीको निजी अस्पता बयोधा र स्टार अस्पतालबाट पनि उपचार भइरहेको छ ।