यस वर्ष बैंकहरुले बोनस शेयरमा जाेड दिने,लाभांश दर भने घट्ने

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गर्ने क्रम सुरु भएको छ। लाभांश वितरण गर्दा यस वर्ष बैंकहरुले नगद भन्दा बोनस शेयरमा जोड दिने भएका छन्।

केन्द्रिय बैंकले लिएको नीति र बैंकहरुको वितरणयोग्य नाफामा आएको संकुचनका कारण बैंकहरुले नगद लाभांश भन्दा पनि बोनस शेयरमा विशेष जोड दिने देखिन्छ। काेराेनाकाे असरका कारण बैंकहरूमा परेकाे असरकाे सामना गर्न केन्द्रिय बैंकले लिएकाे नीति अनुसार यस वर्ष लगानीकर्तालाई  बाेनस शेयर वितरण गरेर बैंककाे पैसा बैंकमा नै राख्नुपर्ने छ। 

बैंकहरूलाई बलियाे बनाउन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका बैंक तथा वित्तीय संस्थाको नगद लाभांश वितरणमा रोक लगाएको छ।

त्यस्तै केन्द्रिय बैंकबाट इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदर भन्दा बढी नहुने गरी) मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको छ।

केन्द्रिय बैंकले नगद लाभांशमा गरेको कडाइका कारण यस वर्ष बैंकहरुले बोनस शेयरलाई जोड दिने बिज्ञहरु बताउछन्। यस अघि लाभांश घोषणा गरेको माच्छापुछ्रे बैंकले पनि नगद भन्दा बोनसलाई प्राथामिकता दिएको छ।

त्यस्तै लघुवित्त कम्पनीहरुले समेत बोनस शेयरमा जोड दिएका छन्। गत आर्थिक वर्षको कमाइबाट समता लघुवित्तले २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ भने ६.३२ प्रतिशत मात्र नगद लाभांश दिने भएको छ। आरएमडिसि लघुवित्तले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद,फस्ट माइक्रोफाइनान्सले ९.५० प्रतिशत बोनस र ४.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। हालसम्म लाभांश प्रस्ताव गरेका सबै कम्पनीहरूले बाेनसमा जाेड दिएका छन्। हालसम्म लाभांश घोषण गर्ने सबै बैंक तथा वित्तीय स्ंस्थाहरुले बोनसमा नै जोड दिएका छन्। उनीहरुले कम नगद दिएर बढी बोनस दिने प्रस्ताव गरेका छन्।

बोनस वितरण गर्दा कम्पनीको चुक्ता पुँजी बढ्छ। त्यस्तै कम नगद दिँदा बैंकहरुले नाफालाई रिजर्भमा राख्न पाउछन्। यसले गर्दा बैंकहरुको रिजर्भ बलियो हुन्छ भने यसले संस्थालाई थप बलियो बनाउछ। गत वर्ष बैंकहरुको साँवा ब्याज उठ्न नसकेका कारण वितरणयोग्य नाफा घटेको छ। यसै कारण पनि बैंकहरुले यस वर्ष कर तिर्न केहि नगद बाँडेपनि धेरै नगद लाभांश भने नदिने बैंकरहरु बताउछन्। 

यस वर्ष राष्ट्र बैंकको नीतिले गर्दा पनि बोनस शेयर दिनै पर्ने एक बैंकर बताउछन्। उनले भने “राष्ट्र बैंकको नीति अनुसार पनि बोनस नै दिनुपर्ने अवस्था छ। हामीले नगदलाई भन्दा बोनसलाई नै बढी प्रिफर गरेका छाैं। यसले गर्दा बैंकहले यस वर्ष बोनस दिनै पर्छ।”

नेपालमा लगानीकर्ताहरुले नगद लाभांश भन्दा पनि बढी बोनस शेयर मन पराउने गरेका छन्। अन्य देशमा नगद लाभांशलाई बढी मन पराइए पनि नेपालमा भने अधिकाँश लगानीकर्ता बोनस शेयरमा नै खुसी हुन्छन्। बोनसमा जोड दिएकै कारण लाभांश घोषण सुरु भएसँगै दोस्रो बजारमा पनि बैंक तथा वित्तीय संस्थाकाे शेयरमा आकर्षण बढ्ने लगानीकर्ताहरु बताउछन्।

गत वर्ष धेरै बैंकहरुले बोनस शेयर भन्दा नगद लाभांशमा बढी जोड दिएका थिए। केहि बैंकहरुले बोनसमा जोड दिएपनि धेरैले नगद लाभांश नै बढी वितरण गरेका थिए। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले औषतमा १८.८५ प्रतिशत लाभांश वितरण गरेको थिए। जसमा नगद लाभांश औषतमा १०.१४ प्रतिशत र बोनस शेयर औषतमा ८.७० प्रतिशत रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *