आम्दानी खुम्चेको वेला महँगो भान्सा

उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ । लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेको तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् । ११ चैतदेखिको निरन्तर लकडाउनले आम्दानी खुम्चेका वेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन् ।

दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञायता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । ‘अहिले नेपाली किसानले सबै तरकारी उत्पादन घटाएका छन्, आपूर्ति नै करिब २ सय टनका दरले घटेका कारण मूल्यमा चाप परेको हो,’ उनले भने । ललितपुर भैँसेपाटीकी गृहिणी उर्मिला महर्जनले शनिबार साँझ घरनजिकैको चोकमा तरकारीको भाउ सुन्दा अतालिएको बताइन् । उनी भन्छिन्, ‘मुला, स्कुसजस्ता तरकारीको भाउ पनि १ सय रुपैयाँ भन्छन् । कमाइ कम भएका वेला यस्तो महँगी भएपछि कति दिन धान्न सकिएला ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *