स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य
भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ। व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो।
वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले बताए।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए। स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी रु ६५ र खुद्रा मूल्य प्रतिकेजी रु ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि व्यापारीहरुले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी रु १०० मा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ । यसका साथै व्यापारीहरुले आलु, प्याजलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारवाही गरिने जनाइएको छ । वीरगञ्जमा थोक तथा खुद्रा बिक्रेताको सङ्ख्या ५०० को हाराहारीमा छ ।