डा. केसीलाई ट्रमा सेन्टर पुर्‍याइयो

डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको छ ।

सोमबार जुम्लाबाट नेपालगन्ज आएका डाक्टर केसी मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताएका थिए । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ । उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लिएर गएका हुन् ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनुपर्ने लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती अस्पताल पुर्‍याएको थियो ।

आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान डा. केसीले लिरहेका छन् । भदौ ९ गतेदेखि डा. केसी १९ औं सत्याग्रहमा सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *