"सुपा देउराली भजन" बाट गायक मोतिराज खनाललाई वर्षको सर्वोत्कृष्ट भजन गायकको अवार्ड

०९ भदौ २०८२, मंगलबार | शुचि खबर

image

लोकप्रिय भजन गायक मोतिराज खनालले वर्ष २०८२ को सर्वोत्कृष्ट भजन गायक तथा सर्जकको अवार्ड जित्दै नेपाली भजन क्षेत्रमा आफ्नो सशक्त पहिचान पुनः पुष्टि गरेका छन्। नेपाल सरकारद्वारा मान्यता प्राप्त, देशकै पुरानो तथा प्रतिष्ठित बक्स अफिस म्युजिक अवार्ड २०८२ मा वरिष्ठ निर्णायक मण्डलको मूल्याङ्कनमा आधारित निर्णयअनुसार खनाललाई यो अवार्ड प्रदान गरिएको हो। यस अवार्डमा कुनै भोटिङ प्रक्रिया नराखी केवल सिर्जना र प्रस्तुतीको उत्कृष्टता को आधारमा छनोट गरिएको थियो।

गायक मोतिराज खनालले यस वर्ष गाएको ‘सुपा देउराली भजन’ को लोकप्रियता सामाजिक सञ्जालदेखि मठ–मन्दिरसम्म फैलिएको छ। युट्युब, टिकटक र फेसबुक रिल्समा यो भजन भाइरल बनिसकेको छ। भजनको सांगीतिक प्रभाव मात्र नभई, यसले सुपा देउराली मन्दिरमा पर्यटकको आकर्षणसमेत बढाएको छ। धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको यो भजन अहिले अर्घाखाँची जिल्लाको गौरवको प्रतीक बनेको छ।

भजनमार्फत निर्देशक सुरज खनालले पनि उत्कृष्ट निर्देशनको अवार्ड जितेका छन्। गायक खनालले यो सफलता आफ्नो टिमको सामूहिक प्रयासको उपलब्धि भएको बताए। उनले सहकर्मीहरू शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ, एरेन्जर विश्वास नेपाल लगायत सम्पूर्ण प्राविधिक टिमप्रति आभार व्यक्त गरे।

अवार्ड वितरण समारोहमा फिल्म निर्माता तथा युवा व्यवसायी आर.के. सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सुवेदी आफैँ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ६ पटक नाम लेखाएका व्यक्तित्व हुन्। कार्यक्रममा निरञ्जन ठाकुर, धु्रव बस्नेत, आर.के. गोल्डकपका सिइओ लगायत प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

त्यस अवसरमा आयोजित १९औँ विश्वकृतिमानी आर.के. गोल्डकप फुटसल २०८२ मा सनराइज अजय एफसी ले उपाधि जित्दा भैरव फुटसल, भक्तपुर उपविजेता बन्यो। फेयर प्ले अवार्ड निकेश एफसी, इटहरी लाई प्रदान गरियो। राष्ट्रिय महिला खेलाडी रेखा पौडेललाई प्रोत्साहन सम्मान दिइयो।

कार्यक्रममा आगामी तिज म्युजिक अवार्डका पाँच उत्कृष्ट मनोनयन पनि सार्वजनिक गरिएको थियो। समापनको क्रममा आर.के. सुवेदीले सम्पूर्ण कलाकार, सहभागी, पत्रकार, मिडिया तथा दर्शकहरूलाई धन्यवाद दिँदै भविष्यमा अझ भव्य कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

गायक मोतिराज खनालले आफूलाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने दर्शक, श्रोता, मिडिया, गुरुजन, परिवार र शुभेच्छुकहरू सबैप्रति आभार प्रकट गर्दै यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताए।

Share:

Related News