अशोक दर्जीको जीवनकथामा आधारित चलचित्र ‘मन बिनाको धन’

१३ कात्तिक २०८२, बिहीबार | शुचि खबर

image

बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई कथावस्तु बनाउँदै चलचित्र ‘मन बिनाको धन’ तयार भएको छ। सडकबाट गायनको यात्रा सुरु गरेका दर्जीको कथा संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा पर्दामा उतारिएको हो।

चलचित्रले वर्तमान समाजमा मन र धनबीचको द्वन्द्वलाई मुख्य विषयवस्तु बनाउँदै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने प्रेरणादायी यात्रालाई चित्रण गरेको छ। निर्देशक बुढाथोकीका अनुसार कथामा दर्जीको वास्तविक जीवनका केही प्रमुख घटनाक्रमलाई चलचित्रिक ढंगले प्रस्तुत गरिएको छ।

उनले भने, “सडकमा गीत गाउँदै हिँड्ने अशोक दर्जीको जीवन कसरी परिवर्तन भयो भन्ने कथालाई चलचित्रमा ल्याएका छौं। यो पूर्ण जीवनी होइन, तर घटनाक्रमहरू वास्तविकतामा आधारित छन्। चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै प्रेरणा पनि दिनेछ।”

हाल कक्षा ९ मा अध्ययनरत अशोक दर्जीले यो चलचित्रलाई आफ्नो उमेरअनुसार पहिलो र अन्तिम मुख्य भूमिका भएको बताए। उनले गायक बुढाथोकीप्रति कृतज्ञता व्यक्त गर्दै भने, “मलाई सडकबाट ल्याएर गायक बनाउनुभयो, शिक्षाको अवसर दिनुभयो। म आज जसरी चिनिएको छु, त्यो उहाँकै कारण सम्भव भयो। यो चलचित्रले मेरो संघर्ष देखाएर अरू बालकलाई पनि सपना देख्न प्रेरणा देओस् भन्ने मेरो चाहना छ।”

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धी तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ र प्रियंका झा लगायत कलाकारले अभिनय गरेका छन्।

गायक बुढाथोकीकै कथा र निर्देशनमा बनेको यस चलचित्रको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। चलचित्र कात्तिक २१ गतेदेखि नेपालसँगै विदेशका केही स्थानमा पनि प्रदर्शनमा आउने वितरक करण श्रेष्ठले जानकारी दिएका छन्।

Share:

Related News