इजरायलद्वारा लेबनानमा हवाई आक्रमण तीव्र

१० चैत २०८१, आइतबार | शुचि खबर

image

लेबनानबाट केही रकेट प्रहार भएपछि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र बनाएको छ । 

इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको दर्जनौं रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमाण्ड सेन्टरमा आक्रमण गरेको हो । इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमास विरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो । इजरायली सेनाले उत्तरी इजरायली शहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै क्षति नभएको जनाएको छ । 

हिजबुल्लाहले भने आक्रमणहरूबाट आफूलाई टाढा राखेको छ भने यसमा आफ्नो कुनै भूमिका नभएको र युद्धविराम प्रति प्रतिबद्ध रहेको जनाएको छ । हमाससँगको युद्धविराम भंग गर्दै गाजामा भिषण हवाई आक्रमण गरिरहेको इजरायलले दक्षिणी लेबनानमा पनि हवाई आक्रमण थालेको हो । 

यसैबीच, लेबनानस्थित राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलले इजरायल र लेबनानबीचको अवस्था अत्यन्तै नाजुक रहेको उल्लेख गर्दै यसले हिजबुल्लाहसँगको युद्धविराम सम्झौता भंग हुन सक्ने चिन्ता व्यक्त गरेको छ । युनिफिलले सीमा क्षेत्रमा भइरहेका हिंसाले गम्भीर परिणाम निम्त्याउने चेतावनी समेत दिएको छ ।

Share:

Related News