देश प्रतिक्रान्तितर्फ गएको छ : ओली

२८ असोज २०८२, बुधबार | शुचि खबर

image

ललितपुर, असोज २८ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश हाल एक खतरनाक मोडतर्फ उन्मुख भएको भन्दै प्रतिक्रान्तिको संकेत देखिएको बताएका छन्। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

ओलीले वर्तमान राजनीतिक र प्रशासनिक अवस्थालाई लक्षित गर्दै भने, "आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ। यदि हामीले प्रभावकारी ढंगले यसलाई रोक्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ धकेलिन्छ।" उनले देशलाई पुनः लोकतान्त्रिक मूल्यमान्यता, जनपक्षीय सोच, सुशासन, विकास र समृद्धिको दिशामा फर्काउनुपर्ने आवश्यकता औंल्याए।

"अवस्था दिन प्रतिदिन बर्बादीतर्फ उन्मुख हुँदै गएको छ। यसलाई अब शान्तिपूर्ण, लोकतान्त्रिक, भ्रष्टाचारमुक्त र जनमुखी बाटोमा फर्काउनैपर्छ," उनले भने, "हामीलाई यसको नेतृत्व लिनु छ।"

अध्यक्ष ओलीले आफ्नो पार्टी नेकपा एमाले हाल देशकै सबैभन्दा ठूलो निशानामा रहेको दाबी गर्दै त्यसको पछाडि सकारात्मक कारण रहेको बताए। "हामी अरूभन्दा बढी प्रहारको निशाना भएका छौं। किन? हामीले गल्ती गरेका भएर होइन। हाम्रो राष्ट्रविरोधी नीति भएकाले होइन। बरु हामीले राष्ट्रहितका नीति लिएका छौं, जनताको पक्षमा काम गरेका छौं, त्यसैले निशानामा परेका छौं," उनले स्पष्ट पारे।

उनको भनाइमा, वर्तमान शासन प्रणालीले जनताको चाहना, अपेक्षा र भरोसाको सम्मान नगरेको र सत्ताको दुरुपयोग गर्दै गलत बाटो रोजिरहेको संकेत मिलिरहेको छ। ओलीले जनताले परिवर्तनको लागि गरेको संघर्षलाई अपमान गर्ने र उपलब्ध लोकतान्त्रिक मूल्यहरू उल्टाउने प्रवृत्तिप्रति कडा आपत्ति जनाए।

कार्यक्रममा ओलीले आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा पनि केन्द्रीय समिति सदस्यहरूलाई मार्गनिर्देशन दिएका थिए। बैठकमा एमालेका वरिष्ठ नेताहरू, प्रदेश अध्यक्षहरू, जनसंगठनका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो।

Share:

Related News