नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

२८ असोज २०८२, बुधबार | शुचि खबर

image

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधवार)देखि सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेमा सुरु हुनेछ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने समसामयिक राजनीतिक परिस्थितिलाई समेटिएको राजनीतिक प्रतिवेदन, आगामी रणनीति र विविध विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।

पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीसम्बन्धी विषय पनि बैठकको मुख्य एजेन्डा हुनेछ। यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो। सचिवालय बैठकले मंसिरको अन्तिम सातामा महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसको निश्चित मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने बताइएको छ।

यस बैठकलाई एमालेले आफ्नो संगठन सुदृढीकरण, आगामी निर्वाचन रणनीति र सरकार तथा विपक्षी दलहरूप्रति आफ्नो राजनीतिक धारणा स्पष्ट पार्ने अवसरको रूपमा लिएको छ। बैठकमा पार्टीका शीर्ष नेताहरू, केन्द्रीय सदस्यहरू र विभिन्न प्रदेश तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

Share:

Related News