प्रविधिमैत्री कृषितर्फ आकर्षण बढ्दो

२२ असोज २०८२, बिहीबार | शुचि खबर

image

पछिल्ला वर्षहरूमा नवलपरासीका किसानहरू परम्परागत कृषि प्रणाली त्याग्दै प्रविधिमैत्री खेतीतर्फ आकर्षित हुँदै गएका छन्। प्रविधिको विकाससँगै कृषिमा सहजता, समयको बचत र उत्पादकत्वमा वृद्धिले किसानहरूलाई यान्त्रिकरण अपनाउन प्रेरित गरिरहेको छ।

केही वर्षयता जिल्लामा धान काट्ने कामका लागि विभिन्न कृषि उपकरणहरूको प्रयोग बढेको छ। किसानहरूले अब मिनी टिलर, थ्रेसर र धान काट्ने मेसिनहरूको प्रयोग गर्न थालेका छन्। परम्परागत रूपमा गोरु र खेतालाको भरमा निर्भर धान खेती अब यान्त्रिक उपकरणहरूको सहायता लिएर गरिन थालेको छ।

विशेषगरी ठूला फाटका खेतहरूमा भारतबाट आयात गरिएका ठूला मेसिनहरूको प्रयोग गरिन्छ भने साना खेतहरूमा हाते ट्याक्टरमा जडान गरिएको मेसिनमार्फत धान काटिन्छ।

मेसिनको प्रयोगले समय, श्रम र लागत बचत हुनुका साथै खेताला नपाइने समस्या समाधान गर्न पनि सहयोग पुगेको किसानहरू बताउँछन्। बर्दघाट नगरपालिका–१४ का किसान लक्ष्मण जंग हमाल भन्छन्, “मेसिनको प्रयोगबाट १ घन्टामा करिब ६ कट्ठा धान सजिलै काट्न सकिन्छ।” उनले आफैंले धान काट्ने मेसिन खरिद गरेका छन् र स्थानीय तहले किसानसँग लागत साझेदारीमा यस्ता उपकरण उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याएका छन्

ठूला मेसिनहरूले धान कटानी गर्दा पराल (छवाली) धुलो हुने भएकाले धेरै किसान मिनी टिलरको प्रयोग गर्दै आएका छन्। पशुपालनमा संलग्न किसानहरूका लागि पराल महत्त्वपूर्ण पशु आहार हो। हरियो घाँस अभाव हुने समयमा पराल नै मुख्य स्रोत बन्ने हुँदा किसानहरूले टौवा बनाई वर्षभरका लागि पराल संकलन र संरक्षण गर्ने गरेका छन्।

यद्यपि कृषि ज्ञान केन्द्र, स्थानीय तह र केही सहकारी संस्थाहरूले लागत साझेदारीमा कृषि यन्त्र वितरण गरेका छन्, यी उपकरणहरू सबै किसानको पहुँचमा पुग्न सकेका छैनन्। जिल्लामा धान रोप्ने मेसिन भने अझै व्यापक रूपमा प्रचलनमा आएको छैन। तर, काट्ने, थन्क्याउने लगायतका चरणमा प्रविधिको प्रयोगले किसानको जीवनलाई सजिलो बनाएको छ।

नवलपरासीमा धान प्रमुख बाली हो। प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि हुने आशा गरिएको छ। तर, प्रविधिमा सबैको समान पहुँच सुनिश्चित नगरिएसम्म कृषि यान्त्रिकीकरणको फाइदा सीमित हुने देखिन्छ।

Share:

Related News