प्रहरीमाथिको आक्रमणमा संलग्न जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

३० माघ २०८१, बुधबार | शुचि खबर

image

गृहमन्त्री रमेश लेखकले हालै प्रहरीमाथि भएका कुटपिट र दुर्व्यवहारका घटनामा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

बुधबार बिहान गृह मन्त्रालयमा आयोजित बैठकमा गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीहरूलाई सुरक्षा सुदृढीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिए। उनले प्रहरी कर्मचारीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न आग्रह गरे।

गृहमन्त्री लेखकले पछिल्ला दिनहरूमा मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि कुटपिट र दुर्व्यवहारका घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा सचेत रहन सुरक्षा संयन्त्रलाई निर्देशन दिए। उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीलाई अझ प्रभावकारी रूपमा क्रियाशील हुन आग्रह गरे।

‘घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रिया अवलम्बन गरी कारबाही गर्न निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘समाजको सुरक्षामा खलल पुर्‍याउने र प्रहरीमाथि आक्रमण गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउनुपर्छ।’

उनले सुरक्षा सुदृढीकरणका लागि प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाए।

Share:

Related News