बाढीपहिरोका कारण १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द

१८ असोज २०८२, आइतबार | शुचि खबर

image

निरन्तरको वर्षा, बाढी तथा पहिरोका कारण करिब ११५ मेगावाटका विद्युत आयोजनामा क्षति पुगेको छ। 

इलामको माइरिभिर बेसिनमा सञ्चालनमा रहेका ११५ मेगावाट विद्युत उत्पादन बाढीका कारण बन्द भएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इप्पान)को तथ्यांकलाई आधार मान्दै सञ्चालनमा रहेका १५ आयोजनाको विद्युत उत्पादन बन्द भएको जनाएको हो। 

यी आयोजनामा केहीमा आंशिक र केही आयोजनामा पूर्ण क्षति पुगेको प्रारम्भिक अनुमान छ। निर्माणाधीन ५ आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। निर्माणाधीन अवस्थामा रहेका करिब ९३ मेगावाट आयोजनामा क्षति पुगेको छ। 

पाँचथरमा निर्माणाधीन २१.५ मेगावाटको सभाखोलाबी र ९.९ मेगावाटको हेवाखोला, इलामको १० मेगावाटको सिद्धि खोला र सिन्धुपाल्चोकको ३६.५१ मेगावाटको ब्रम्हायणी हाइड्रोपावर तथा १५.१५ मेगावाटको अपर ब्रम्हायणी हाइड्रोपावर आयोजनामा बाढीले क्षति पुर्‍याएको हो। 

बाढी र पहिरोका कारण स्थलगत अवलोकन गर्न सक्ने अवस्था नरहेको भन्दै इप्पानका प्रमुख कार्यकारी अधिकृत भीम गौतमले जलविद्युत आयोजनामा भएको एकिन क्षति भन्न नसकिने जनाए। 

Share:

Related News