८१ वर्षको उमेरमा स्वामी आनन्द अरुणको युवा जोस

०४ असार २०८१, मङ्गलबार | शुचि खबर

image

ओशो तपोवनका संस्थापक रहनुभएका बोधिसत्त्व स्वामी आनन्द अरुण विगत ५५ वर्ष देखि ध्यान र ओशो दर्शनको प्रचार गरिरहनु भएको छ। आइतबारदेखि ८१ वर्ष टेक्नु भएका उहाँमा जोस जाँगर भने कुनै युवामा भन्दा कम छैन। आफ्नो दैनिकी योग र ध्यानबाट सुरु गर्ने र दिनभर ओशोको कार्य गर्नुहुने उहाँ दिनको अन्त्य भने आरती एवम् प्रार्थना बाट पुरा गर्नुहुन्छ।सधैँ आनन्दित मुद्रामा देखिनु हुने अरुण स्वामी आफ्नो आनन्दको रहस्य नियमित ध्यान र गुरुको कृपा हो भन्नु हुन्छ। मृदुभाषी र सरल स्वभावका स्वामी सँग ध्यान शिविर गर्न धेरै जना लालायित हुने गर्दछन्। लामो समयसम्म अविराम साधनाको प्रतापले नै हुनुपर्छ, उहाँको निकटमा मानिसहरूले गहिरो ध्यान र आनन्दको अनुभूति गर्दछन्। ध्यान गर्न अल्छी गर्नेलाई भने चुट्किला सुनाएर हँसाउने उहाँको स्वभाव छ । 

नेपालका राजनीतिज्ञहरूमा अध्यात्म प्रति झुकाव बढेको खण्डमा देशको राजनीतिक भविष्य पनि सुध्रिनेछ भनेर राजनीतिज्ञ देखि ख्यातिप्राप्त हरकोहि व्यक्तिलाई अरुण स्वामीले ओशो तपोवनमा निम्ता गर्ने गर्नु भएको छ। प्रकृतिले धनी देश नेपालको गरिब अवस्थाप्रति चिन्ता गरी रहनुहुन्छ, राजनीतिज्ञहरूसँग भेट हुँदा उपयुक्त सल्लाह दिइरहनु भएको हुन्छ। लामो समय ध्यान र तपस्या गरेका योगीसँग आध्यात्मिक शक्ति हुनु कुनै नौलो कुरा हैन। नेपाललाई समृद्ध बनाउने उपयुक्त पात्र फेला परेमा पक्कै पनि अरुण स्वामीको प्रेम र स्नेह उसले पाउनेछ। 

अरुण स्वामीसँग मानिसहरूको विभिन्न आध्यात्मिक अनुभूतिहरू हुने गरेका छन्। उहाँसँग ध्यान गर्दा अतिरेकमा जाने, ध्यान गहिरो हुने, आनन्दको वर्षा महसुस हुने गरेको छ। ओशोको ध्यानको मार्गमा यति आनन्द प्राप्त हुन सक्छ भनेर  स्वामी आनन्द अरुणकै सन्निकट हामीले महसुस गर्ने मौका पाएका छौँ। अन्तर आनन्दले विभोर उहाँको मुस्कान जति दिन बढी यस धरतीमा फैलिन्छ त्यति नै बढी मानिसले आनन्द महसुस गर्ने छन्। हामी उहाँको जन्म दिवसको शुभकामना दिँदै उहाँको स्वास्थ्य र दीर्घ जीवनको ओशो सँग प्रार्थना गर्दछौँ। जय ओशो।

Share:

Related News