चीन–अमेरिका तनावः
अमेरिका र चीनका बीच जारी तनावको एउटा स्वरुप संयुक्त राष्ट्र महासभाको ७५ औँ सत्रमा पनि देखिएको छ।
संयुक्त राष्ट्र महासभाको सत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि चीनलाई कोरोना भाइरसको महामारीको प्रसारका लागि जिम्मेवार मानेका छन्। उनले यस मामलामा ‘चीनको जवाफदेही’ तय गर्न आवश्यक रहेको बताए।
उता चिनीयाँ राष्ट्रपति शी जिनपिङले आफ्नो भाषणमा भने, ‘चीन कुनै पनि देशका साथ शीतयुद्धमा जाने कुनै अभिप्राय राख्दैन।’
अमेरिका र चीन दुवै विश्वका दुई ठूला शक्ति भएका देश हुन्। तर, पछिल्लो केही समयदेखि दुई देशका बीच कयौँ मुद्दामा तनावको अवस्था छ। कयौँ मुद्दामा दुवै देशले एक–अर्कालाई धम्कीसम्म दिइसकेका छन्।
न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभाको उक्त वार्षिक शिखर सम्मेलनलाई भर्चुअल रुपमा आयोजना गरियो। जसमा सबै विश्वव्यापी नेताहरुले पहिले नै रेकर्ड गरिएको आफ्नो भाषण पठाए।
यो नयाँ तरिकाबाट संयुक्त राष्ट्रसंघको वार्षिक बैठकमा प्रत्येक वर्ष जसरी भू–राजनीतिक ड्रामा देखिन्थ्यो, त्यो यो वर्ष देखिएन।
तर, भाषणका माध्यमबाट एक अर्कालाई घेर्ने र प्रश्न गर्ने सम्भावना जारी रह्यो। जस्तैः संयुक्त राष्ट्र महासभाको सत्र भाषणलाई राष्ट्रपति ट्रम्पले आफ्नो उपलब्धी देखाउन र आफ्ना प्रतिद्वन्दी माथि आक्रमण गर्नका लागि प्रयोग गरे।