राजस्थान रोयल्सको कीर्तिमानी जित

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि आइपिएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।

राजस्थानको जितमा राहुल टेवाटिया ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए । सुरुवाती समय निकै सुस्त इनिङ खेलेको कारण आलोचना खेपेका राहुल अन्त्यमा जितको नायक बने । पहिलो खेलमा पन्जाब दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाबले आफ्नो चौथो खेलमा अक्टोबर १ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । तेस्रो खेलमा सेप्टेम्बर ३० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *