महंगियो भान्सा

दसैं नजिकिएसँगै तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ । बजारमा गाजर र स्कुस बाहेकका तरकारीहरु प्रति किलो १०० भन्दा माथि छ । एकातर्फ किसानले उत्पादन गरेका सामानले उचित मूल्य नपाउने र अर्कोतर्फ उपभोक्ताहरुले महंगो मूल्य खर्चन वाध्यछन् । अहिले किसानले समयमा मल नपाएको र लकडाउनका कारण कृषकको मनोबल कमजोर भएर तथा यस अघि उत्पादित सामानले बजार भाउ राम्रो नपाएका कारण कृषि उत्पादन घटेकोले बजारमा तरकारीहरुको मूल्य बढेको व्यापारी बताउँछन् ।

लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महंगो भएको व्यवसायीहरुले तर्क गरे पनि चाडबाडका बेला मनोमानी भाऊ बढाइएको हुन सक्ने उपभोक्ताको गुनासो छ ।

अझै एक महिना तरकारीको मूल्य घट्ने अवस्था नरहेको व्यापारी बताउँछन् । दशैपछि विस्तारै उपत्याकाका टनेलका उत्पादन र तराइका उत्आपादन आउन थालेपछि मात्रै तरकारी सस्तो हुन्छ । प्रभावकारी अनुगमन नहुँदा एउटै किसिमको उत्पादनको पसलै पिच्छे फरक मूल्य कायम भएको छ ।

कालिमाटीको थोक बजारमा शनिबार गोलभेडाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा माथि पुगेको छ । एक हप्तायता गोलभेडाको मूल्य प्रतिकिलो ७ देखि १५ प्रतिशतले बढेको हो । केही हप्ताअघिभन्दा गोलभेडा सस्तो भए पनि यो हप्तादेखि फेरि बढेको छ ।

यो वर्ष आलु पनि चरम महंगो भएको छ । अहिले भारत, भुटान र बंगलादेशबाट आलु आयात भइरहेको छ । रातो आलु थोकमै प्रतिकिलो १०० रुपैयाँ माथि पुगेको छ । भारतीय रातो आलुको मूल्य थोकमा ६५ रुपैयाँ हाराहारी पर्छ । मुडेको रातो आलु पनि थोकमै प्रतिकिलो ८५ रुपैयाँ बराबर पर्छ ।

बन्दाको मूल्य पनि थोकमा किलोको ७० रुपैयाँ भन्दा माथि छ । स्थानीय काउलीको थोक मूल्य किलोमा १२० रुपैयाँ भन्दा बढी छ ।

यो हप्ता लामो भन्टाको मूल्य पनि ह्वात्तै बढेको छ । करिब आधाभन्दा बढी मूल्य बढेर लाम्चो भन्टा थोकबजारमै किलोमा १५० रुपैयाँ नाघेको छ । तने बोडी पनि करिब १५ प्रतिशत महंगो भएर थोक बजारमै किलोमा १५५ रुपैयाँ पर्न थालेको छ ।

लोकल घिउसिमी एकहप्ताअघि थोक बजारमा ७० रुपैयाँमा बिक्री भइरहेको थियो, अहिले बढेर १०० को हाराहारी पुगेको छ । हाइबि्रड घिउसिमी पनि ८० रुपैयाँबाट ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ । भटमास कोसाको प्रतिकिलो ६० रुपैयाँ हाराहारीमा थोक मूल्य छ । एकहप्ताअघि ७० रुपैयाँमा पाइने तितेकरेला थोक बजारमै प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ ।

अनुगमन गर्ने निकायले प्रयापत चासाे नदिदाँ उपभोक्ता र किसान दुवै मारमा परेका छन् । सरकारले प्रयाप्तमात्रामा अनुगमन गर्ने हो भने किसानले परिश्रमको मूल्य पाउनुका साथै उपभोक्ताले समेत राहत महसुस गर्ने थिए ।

सरकारले यस पटक समयमा मल ल्याउन नसकेको सर्वविधित छ यस पटकको कामकाे मूल्यांकन गरेर आगामी वर्षको लागि अहिले देखिनै मल र बिउको व्यवस्था गर्न लाग्ने र किसानको उत्पादनको निश्चित मूल्य निर्धारण गरी सरकारले खरिद गर्ने व्यवस्था मिलाउन सके किसान र उपभोक्ता दुवैको हित हुनुको साथै सरकारको अभिभावकत्व झल्कने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *