खाद्य संस्थाले कात्तिक ३ गतेदेखि खसी बोकाको बिक्री शुरु गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री शुरु गर्ने भएको छ । कम्पनीको थापाथली स्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम शुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ । यस्तै दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै विक्रीमा राखिने कम्नीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस बर्ष तुल्सीपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उनले बताए ।

कम्पनीले यसअघि दशैंको लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको बताए । पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *