मिथुनका छोरा महाअक्षयविरुद्ध बलात्कार आरोप
भारतीय चलचित्रका हिरो मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीविरुद्ध बलात्कारकाे उजुरी परेको छ।
फिल्म क्षेत्रमै काम गर्ने एक युवतीले आफ्नो यौन शोषण गरी गर्भपतनसमेत गराएको अभियोग लगाउँदै उनीविरुद्ध मुम्बईस्थित ओसिवारा पुलिस स्टेसनमा निवेदन दिएकी हुन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार पीडित युवतीले पहिले आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको र पछि बिहे गर्ने आश्वासन दिएर गर्भ बसाई पतन गराएको आरोप लगाएकी छन्।
दैनिक भास्करको खबरअनुसार उजुरीकर्ता ती अभिनेत्री र महाअक्षय सन् २०१५ देखि प्रेम सम्बन्धमा थिए। त्यस क्रममा एकदिन महाअक्षयले आफूलाई घरमा बोलाएर पेय पदार्थमा नसालु चिज मिसाएर खुवाई करणी गरेको पीडितको दाबी छ।
त्यसपछि बिहे नै गर्ने आश्वासन दिएर ४ महिनासम्म शारीरिक सम्बन्ध गरेको र गर्भ बसेपछि झुक्याएर पतन गराएको उनको आरोप छ।
यो गुनासो महाअक्षयकी आमालाई गर्दा उल्टै आफूलाई धम्की दिएको भन्दै ती युवतीले आमा र छोरा दुवैविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।