इटालियन सिरी ए फुटबलमा यो सिजन लगातार राम्रो प्रदर्शन गर्दै आएको एसी मिलानले लिग अन्तर्गत शनिबार राति भएको खेलमा इन्टर मिलानमाथि सहज जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई २–१ ले पराजित गरेको हो । एसी मिलानको जितमा जाल्टन इब्राहिमोविचले दुई गोल गरेका हुन् ।

उनले १३ र १६ औँ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । रामेलु लुकाकुले २९ औँ मिनेटमा इन्टर मिलानका लागि एक गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र एसी मिलान विजयी भयो ।

जितपछि शीर्ष स्थानका एसी मिलानको चार खेलबाट १२ अंक भएको छ, अर्थात एसी मिलान यो सिजन अहिलेसम्मका सबै खेलमा विजयी भएको छ । सात अंकसहित इन्टर मिलान छैटौँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको एट्लान्टा तेस्रो स्थानको नापोलीसँग ४–१ ले पराजित भयो । एट्लान्टाको ९ तथा नापोलीको ८ अंक छ । ८ अंकसहित साबिक विजेता युभेन्टस चौथो स्थानमा रहेको छ ।